Posted by: domnath | July 21, 2009

यसरी बाचियो

रमेश जीसी/अफगानिस्तान

 

काठमाडौं, रोजगारीका लागि अफगानिस्तान उत्रेको चार दिनमात्रै भएको थियो । आइतबार बिहान साढे ११ बजेतिर हामी कान्दाहार विमानस्थलमा रहेको एमआई-८ हेलिकप्टरमा चढिसकेका थियौं ।

कान्दाहार विमानस्थलबाट आधा घन्टा टाढाको उडानमा पुगिने स्टिमबुडेक बेसतिर तोकिएको कन्स्ट्रक्सनमा काम सुरु गर्न छ जना नेपाली खटिएका थियौं । छ जना नै हेलिकप्टरको सबैभन्दा पछिल्लो सिटमा थियौं । सबैले सिटबेल्ट बाँधेका थियौं । हेलिकप्टरले धावनमार्ग छाडेर उडिसकेको थियो, एकाएक एक/दुई मिनेटमै घ्याच्च गर्दै यसको चक्काले भुइँ छोएको थाहा भयो । त्यो बेला हामीलाई पछिल्लो ढोकाको सानो खापा अलिकति खुलेको झैं लाग्यो । त्यहाँबाट अलिकति उज्यालो छिरेको थियो । अचानक धूवाँको कालोमुस्लो जहाजभित्र पस्यो, आँखै देख्न नसकिने गरी ।

मसँगैको साथी अभिषेक अधिकारीले भन्यो, ‘औउ, बेल्ट खोल, भागौं ।’ अनि हामीले हत्तपत्त सिटबेल्ट खोल्यौं, सुरुमा अभिषेक हाम फाल्यो । अनि मैले पनि हाम फालें । त्यही पछाडिको ढोका ठेलेर तल धावनमार्गमा हाम फाल्नासाथ हामी झन्डै ५० मिटरजति अन्धाधुन्ध दौड्यौं । अनि पर्तिरबाट आउँदै गरेको भ्यानसँग सहयोग माग्यौं । त्यही भ्यानमा रिमुट मेडिकल सोलुसन इन्टरनेसनलको स्थानीय क्यानेडियन अस्पतालमा हामीलाई पुर्‍याइयो । हात र घुँडामा सामान्य चोट लागेकाले उपचारमा त्यति समय लागेन ।   

सन् २००६ देखि दुई वर्ष इराकको बग्दादमा गएर होटलको काम गरेको अनुभव मसँग थियो । खतरा वा डरलाग्दो क्षणको अनुभव त्यति थिएन । यसपाला आफू चढेको हेलिकप्टरमा आगलागी भयो । यस्तो हुँदा कमै मान्छे बाँच्छन् भन्ने सुनेको हुँ । तर कसोकसो बाँचियो । तर सँगैका साथीभाइको ज्यान गएकामा मर्माहत छु । अब अभिषेक अस्पतालबाट आजभोलि फिरेपछि घर जाने वा काममा लाग्ने टुंगोमा पुग्नुपर्ला ।           -कुराकानीमा आधारित)


Leave a response

You must be logged in to post a comment.

Categories